दफा ११
अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार
 (१) यस ऐन बमोजिम गरिने अनुसन्धान तथा तहकिकातको सम्बन्धमा अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) राजस्व चुहावट ………. को कसूर अनुसन्धान अधिकृतको उपस्थितिमा भएमा कसूरदारलाई पक्राउ गरी कारवाही चलाउने ।
(ख) राजस्व चुहावट ………… को कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा वा सबूद प्रमाण संकलन गर्दा कसूरमा मुछिएका व्यक्तिलाई पक्राउ गर्ने, कुनै सरकारी, अर्ध सरकारी वा गैर सरकारी कार्यालय, गोदाम वा आवश्यकता अनुसार अन्य कुनै स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सील गर्ने, सम्बन्धित कागजपत्र वा मालवस्तु आफ्नो कब्जामा लिने, अभियुक्तको बयान लिने, सरजमीन मुचुल्का तयार गर्ने समेत प्रचलित कानून बमोजिम प्रहरीले पाएको सबै अधिकार निजले प्रयोग गर्न सक्ने ।
(ग) अनुसन्धान तथा तहकिकात गर्दा अभियुक्तलाई तारेखमा राख्ने, धरौटी वा जमानी लिई छाड्ने र धरौटी राख्न वा जमानी दिन नसकेमा थुनामा राख्ने बारे प्रचलित कानून बमोजिम मुद्दा हेर्ने अधिकारीलाई भए सरहको अधिकार पनि अनुसन्धान अधिकृतले प्रयोग गर्न सक्ने ।
(घ) यस ऐन अन्तर्गतको काम कारवाही गर्दा आफ्नो ओहदाको हैसियतले ज्ञात हुन आएको कुनै कुरा वा दाखिल भएको कागजपत्रको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भंग नगर्ने ।
तर त्यस्तो कुरा वा कागजपत्र अन्य मुद्दा मामिलाको निमित्त आवश्यक प्रमाण लाग्ने किसिमको छ भन्ने कुरा मुद्दा हेर्ने  अधिकारीलाई लागेमा निजको आदेशबाट कानूनद्वारा अधिकृत व्यक्तिका समक्ष त्यस्तो कुरा वा कागजपत्रको गोप्यता सम्बन्धी कुरा व्यक्त गरेमा गोप्यता भंग गरेको मानिने छैन ।
(ङ) यस ऐन बमोजिम अनुसन्धान अधिकृतले अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै मालवस्तु वा कागजपत्र कब्जा गर्नु पर्दा सोको निस्सा सम्बन्धित कार्यालय वा व्यक्तिलाई दिई त्यस्तो मालवस्तु वा कागजपत्र सुरक्षित रुपमा राख्ने ।
(च) यस ऐन बमोजिम अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकृतले गरेको प्रत्येक काम कारबाहीको प्रतिवेदन महानिर्देशकलाई दिनु पर्ने ।
(छ) राजस्व चुहावट सम्बन्धी कसुरको अनुसन्धानमा रहेको व्यक्ति वा संस्थाको चल अचल सम्पत्ति रोक्का गर्नु पर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकृतले त्यस्तो सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(२) महानिर्देशक आफैले यस ऐन बमोजिमको कसूरको अनुसन्धान तथा तहकिकात गरेमा उपदफा (१) बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त कुनै वा सबै अधिकार निजले समेत प्रयोग गर्न सक्नेछ ।